“नेपाली स्याट-१ ” स्याटेलाइटको प्रक्षेपण , प्रधानमन्त्री ओलीद्वारा निर्माण र प्रक्षेपण गर्ने काममा संलग्न वैज्ञानिकहरुलाई बधाइ !

0
160

नेपाली समयअनुसार बिहीबार बिहान साढे २ बजे नेपालले आफ्नो पहिलो स्याटेलाइट (भू-उपग्रह) उडाएर अन्तरिक्षमा पठाएको छ।
अमेरिकाको भर्जिनियास्थित स्पेस कम्पनी ‘अर्बिटल एटिके’ को रकेटबाट उडेको भू-उपग्रहलाई नेपालको विज्ञान क्षेत्रकै एक महत्वपूर्ण कोशेढुंगाका रूपमा हेरिएको छ।नेपाली झन्डा र विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को लोगोसहितको उक्त भू-उपग्रहलाई ‘नेपाली स्याट-१’ नाम दिइएको छ।। यसको तौल झण्डै एक किलो रहेको छ । नेपाली भू–उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको हो ।

नास्टको प्रविधि विभाग प्रमुख डा. रवीन्द्र ढकालका अनुसार नेपालले उडाउन लागेको स्याटेलाइट ‘नानो’ वर्गमा पर्छ। नानो भनेको सानो आकारको हो, जुन एकदेखि १० किलोको हुन्छ। योभन्दा सानो स्याटेलाइट पनि हुन्छ, जसलाई ‘पिको’ भनिन्छ। यसको तौल सय ग्रामदेखि एक किलोसम्म हुन्छ। हाम्रो स्याटेलाइटको तौल १ किलो ३ सय ग्राम छ। यसको लम्बाइ, चौडाइ र उचाइ १०-१० सेन्टिमिटर छ। यसले खिचेका तस्बिर र सूचनाले सम्बन्धित ठाउँको प्रारम्भिक अवस्था अध्ययन गर्न मद्दत पुग्ने ढकालले बताए।

यो स्याटेलाइट अन्तरिक्षमा पुगेपछि एक महिना इन्टरनेसनल स्पेस स्टेसनमा (आइएसएस) मा गएर बस्नेछ। यो भनेको अन्तरिक्षमा रहेको स्याटेलाइटहरूको’पार्किङ’ जस्तै हो। त्यहाँ अन्तरिक्षयात्रीहरूले यसलाई परीक्षण गर्नेछन्। प्राविधिक रूपले उपयुक्त छ भनेपछि बल्ल हाम्रो स्याटेलाइट पृथ्वी वरिपरि घुम्न थाल्नेछ। यसले पृथ्वीबाट करिब ४ सय किलोमिटर टाढा फन्को मार्नेछ।

तीन वर्ष आयु रहेको यो स्याटेलाइटले पठाउने तस्बिरहरू एकदमै सामान्य खालका हुने ढकालले जानकारी दिए। हुन त स्याटलाइटले खिच्ने तस्बिरबाट हावाहुरी, बाढी, प्रकोपदेखि नदीनाला र हिमालहरूको विस्तृत अवस्था पत्ता लगाउन सकिन्छ। तर, हाम्रो सानो स्याटेलाइट यति धेरै सूचना पठाउन सक्षम छैन। यसको क्यामराको गुणस्तर र क्षमता कम छ। यो स्याटेलाइट जापानको क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्युटेक) सँग मिलेर बनाइएको हो। यसमा राष्ट्रसंघको सहयोग छ।
यसैबीच प्रधानमन्त्री केपी ओलीले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको भन्दै नेपालको प्रतिष्ठा बढेको बताएका छन् । नेपालको आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाइएपछि उनले खुसी व्यक्त गर्दै नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको जनाएका हुन् । प्रधानमन्त्री ओलीले बिहीबार बिहान सामाजिक सञ्जाल ट्वीटमार्फत स्याटलाइट निर्माण र प्रक्षेपण गर्ने काममा संलग्न वैज्ञानिकहरुलाई बधाइ दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here