सरकारी प्रतिबन्धपछि पनि बन्द भएन पब्जी खेल, केहि समय अझै लाग्ने !

0
67

काठमाडौं बैशाख ३ । सरकारको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी खेललाई बन्द गर्न इन्टरनेट सेवा प्रदायक आईएसपीहरुलाई निर्देशन दिए पनि अझै यो अनलाइन गेम नेपालमा चलिरहेको छ । सरकारले आईएसपीहरुलाई पब्जी खेल नेपालमा प्रतिबन्ध र डाउनलोडलाई तत्काल बन्द गर्न गत बिहीबार निर्देशन दिएको थियो ।

भीपीएनको पहुँचबिना पनि प्रयोगकर्ताहरुले यो खेल अहिले खेलिरहेका छन् र यो डाउनलोड पनि सजिलै भइरहेको छ । दूरसञ्चार प्राधिकरणको पत्र तल्लो निकायसम्म नआइसकेका कारण यसलाई पूर्णरुपमा बन्द गर्न अझै समय लाग्ने ब्रोडलिङ्कले जनाएको छ ।

याे खेल पूर्णरूपमा बन्द हुन प्राविधिक प्रक्रियामा भर पर्ने नेपाल दूरसञ्चार प्राधिकरणले बताएकाे छ । ‘हामीले आईएसपीहरुलाई पब्जी तत्काल बन्द गर्न निर्देशन दिएका छाैं,’ नेपाल दूरसञ्चार प्राधिकरणका कार्यावाहक प्रमुख पुरूषाेत्तम खनालले भने, ‘तर याे कहिले बन्द हुने भन्ने चाहिँ उनीहरूकाे प्राविधिक प्रक्रियामा निर्भर हुन्छ ।’

पब्जीलाई प्रतिबन्ध लगाउनका लागि पहिले सरकारले आईएसपीहरुलाई पब्जी सर्भरका सम्पूर्ण सञ्चार बन्द गराउन आग्रह गर्नुपर्छ । आईएसपीले पब्जी सर्भरलाई होस्ट गर्ने आईपी एड्रेसलाई पत्ता लगाएर ट्राफिक फिल्टर गर्ने फिल्टर प्रणाली इन्स्टल गरेपछि यो सम्भव हुन्छ । अर्को विकल्प भनेको एएसएन ब्लकिङ विधि अर्थात् अटोनोमस सिस्टम नम्बर हो । तर, यो प्रयोग भएमा यसले पब्जी सर्भरलाई मात्र होइन सम्पूर्ण इन्टरनेट ट्राफिकलाई नै ब्लक गर्न सक्छ । यद्यपि यी दुवै ब्लक गर्ने विधि आजसम्म पूर्णतया प्रभावकारी भने ठहरिएका छैनन् ।

यी सम्पूर्ण प्रयासका बावजुद पनि प्रयोगकर्ताले भीपीएन प्रयोग गरी प्रतिबन्धित खेलमा पहुँच पुर्याउन सक्छन् जसमा नियामक निकाय वा आईएसपीले पनि ट्रेस गर्न सक्दैन ।

सरकारले वास्तवमै यो खेललाई वास्तविक प्रतिबन्ध गर्न चाहन्छ भने उसले एप्पल र गुगलजस्ता कम्पनीलाई उसको एप स्टोर र प्ले स्टोरमा पब्जीको पहुँचलाई ब्लक गर्न अपिल गर्नुपर्छ । जुन नेपालका लागि असम्भव जस्तै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here