सत्तामुखी राजनीति नगर्ने राप्रपाको संकल्प

0
89

काठमाडौं, ३ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजासहितको लोकतन्त्रको एजेण्डा नछाड्ने बताएका छन् । आगामी दिनमा सत्तामुखी राजनीति नगर्ने संकल्प पनि गरेका छन् । उनले राप्रपाले जस्तोसुकै प्रतिकूल अवस्था पनि उनले पूर्ण धार्मिक स्वतन्त्रता र समानताका लागि आहृवान पनि गरेका छन् ।

‘जनताले हामी पटक–पटक सरकारमा गएको मन पराएनन् । हामीले बाटो बिराएको ठाने जनताले,’ शुक्रबार राजधानीमा आयोजित सभामा अध्यक्ष थापाले भने, ‘म आज यहीँबाट संकल्पका साथ भन्छु– राप्रपाले आगामी दिनमा सत्तामुखी राजनीति गर्ने छैन । राप्रपाले जस्तोसुकै प्रतिकूल अवस्था किन नहोस् हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा छोड्ने छैन् ।’
‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ समापनका अवसरमा शुक्रबार राप्रापाले सभा आयोजना गरेको हो ।

थापाले मुलुकमा कठिन अवस्था सिर्जना भए पनि नेपाली जनतालाई धोका नदिने र बेइमानी नगर्ने पनि प्रतिबद्धता जनाए । उनले विगतमा आफू र आफ्नो पार्टीले गरेका त्रुटीका कारण जनतामा पर्न गएको दुःखप्रति क्षमा याचनासमेत गरे ।
‘विगतका त्रुटी, कमी–कमजोरीका कारण जनतामा पर्न गएको खिन्नताप्रति दुःख प्रकट गर्दै क्षमा याचना पनि गर्न चाहन्छु’ थापाले भने, ‘जना जनार्दन हुन्, हामीले बाटो बिराएकै हौं भने साँझ घर फर्किदा जनता जनार्दन, देशका मालिकले हामीलाई सुध्रिने मौका दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’

राप्रापले गत फागुन १५ गते ताप्लेजुङबाट सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ शुक्रबार राजधानीमा समापन गरेका हो ।

सभामा अध्यक्ष थापाले सिंहदरबार र बालुवाटारमा वास्तविक लुटेराहरू बसेको आरोप लगाए । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्धप्रति धेरै टीका–टिप्पणी नगर्ने उनले बताए । तत्कालीन राजा ज्ञानेन्द्र शाहले माओवादी वा अन्य कुनै पार्टीको डर, त्रासले सत्ता नछोडेको पनि बताए । ‘तत्कालीन आन्दोलनकारी र राजाबीच वैशाख ११ मा सम्झौता भएको थियो । त्यतिबेलाको गृहमन्त्री भएको नाताले एउटा सत्य भन्नैपर्छ,’ उनले भने, ‘आन्दोलनले राजा फालेको होइन । सम्झौता विपरीत चुनाव अगावै षड्यन्त्रपूर्वक राजालाई पाखा लगाइएको हो ।’

ताप्लेजुङ सदरमुकामबाट अध्यक्ष कमल थापाले उद्घाटन गरेर सुरु भएको स्वाभिमान यात्रा ताप्लेजुङ, पाँचथर, इलाम, झापासहित तराईका २२ जिल्ला र देशका विभिन्न भाग हुँदै सुदूरपश्चिमको कञ्चनपुर पुगेको थियो । कञ्चनपुरबाट फर्केर बुटवल हुँदै पाल्पा, स्याङ्जा, कास्की भएर काठमाडौं प्रवेश गरेको थियो । यात्राका क्रममा ३६ जिल्लामा १५२ वटा सभा भएको राप्रापले जनाएको छ । हिमालय टाइम्सबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here