रारा राष्ट्रिय नाटक महोत्सव सम्पन्न

0
139

सुर्खेत, २ चैत्र । पहिलो पटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना भएको सप्ताहव्यापी रारा राष्ट्रिय नाटक महोत्सव भव्य रूपमा सम्पन्न भएको छ ।

सांस्कृतिक संस्थान नेपाल र स्थानीय आरंग नेपालको आयोजनामा फागुन २३ देखि सुरु भएको नाटक महोत्सव उत्साहपूर्ण तथा आयोजकले सोचे भन्दा राम्रो भएपछि प्रदेश सरकारले नै आफ्नै लगानीमा नाटक घर निर्माण गर्ने वाचा गरेको छ ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले आगामी आर्थिक वर्षमा नै नाटकघर निर्माणका लागि बजेट विनियोजन गरिने प्रतिबद्धता जनाएका हुन् । ‘सात दिनमध्ये अधिकांश दिन नाटक हेर्न हामी सरकारका प्रतिनिधि उपस्थित भयौं, जीवन बोकेको नाट्य विधा सबैको मन मनमा हुँदा पनि कतै कमी भएको महसुस भयो’, उनले भने, ‘त्यो कमी भनेको सम्भावना हुँदा पनि नियमित नाटक मञ्चन हुने नाटकघरको हो, सरकारको प्रतिनिधि भएका हैसियतले आगामी आर्थिक वर्षको बजेटमा नै आवश्यक रकम विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

देशभरका सात प्रदेशबाट दुईरदुई गरी १४ वटा नाटक समावेश भएको महोत्सवमा आयोजकले सोचेको भन्दा बढी दर्शक अएको र दैनिक नाटकघर दर्शकले भरिभराउ हुँदा नाटक प्रदर्शन गर्ने कलाकारले पनि उत्साहपूर्ण तरिकाले आफ्नो प्रस्तुति गरेको आयोजकको भनाइ छ ।

सांस्कृतिक संस्थानका नाट्य प्रमुख प्रभाकरदेव शर्माले प्रदेश सरकारले रकम विनियोजन गर्ने भएमा डीपीआरका लागि संस्थान तयार हुने प्रतिबद्धता जनाएका छन् । स्थानीय आयोजक आरंग नेपालका संयोजक गणेशभक्त गौतमले सात दिनसम्म सञ्चालन भएको नाटकको उद्देश्य कलाको प्रदर्शन मात्रै नभई सुर्खेतमा नाटक मञ्चन हुने स्थानको खोजी पनि भएकाले प्रदेश सरकारको प्रतिबद्धताबाट सन्तुष्ट भएको बताए । प्रदेश सरकारले लिएको अपनत्वलाई आफूहरूले कार्यान्वयनका लागि सांस्कृतिक संस्थानसँगको सहकार्यमा डीपीआर तयारीका लागि ताकेता गर्ने उनको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here