राउतसँगको सहमति, नेकपा नेताहरुकै आलोचना

0
122

काठमाडौं, २८ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठकमा नेताहरुले दिएको सुझाबै नसुनी सरकारले सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनसँग सहमति गरेको खुलेको छ ।

सरकारले सहमतिको दोस्रो बुँदामा रहेको ‘जनअभिमत’ शब्द नहटाइए जनमत संग्रहको पनि अर्थ लाग्न सक्ने भन्दै मस्यौदा सच्याउन वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठकमा सुझाब राखेका थिए । नेकपा नेता तथा उपाध्यक्ष भिम रावतले खुलेरै राउतसँगको सहमति राष्ट्रघाती भएको बताउदै आएका छन् ।

सहमतिको पहिलो बुँदामा नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्तासम्पन्न अविभाज्य राष्ट्र हो भन्ने स्वीकार गरिएको सहमति भने ठीकै रहेको नेताहरुले बताएका छन । शुक्रबार भएको ११बुँदे सहमतिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्वतन्त्र मधेस गठबन्धनका तर्फबाट संयोजक राउतले हस्ताक्षर गरेका थिए । हस्ताक्षरलगत्तै सम्बोधन गर्दै जनमत संग्रहको सहमति भएको राउतले दाबी गरेका थिए ।
‘राजनीतिक, सामाजिक, आर्थिकलगायतका उद्देश्यहरू प्राप्तिका निम्ति शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट अघि बढ्नुपर्छ भन्नेमा हामी दृढ छौँ,’ ११ बुँदे सहमतिको दोस्रो बुँदामा भनिएको छ, ‘नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई–मधेसलगायत देशका विभिन्न स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौँ ।
राष्ट्रिय सभागृहमा राजनीतिक सहमतिको घोषणा कार्यक्रमभन्दा अघि प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार आयोजित बैठकमा प्रधानमन्त्री केपी ओलीले नेताहरूलाई धेरै शंका नगर्न आग्रह गरेका थिए । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने सरकारले सहमति गरिसकेकाले यसको जिम्मेवारी सरकारले नै लिने भनाई छ ।
बैठकमा प्रधानमन्त्री ओलीले करिब डेढ महिनादेखिको लगातार वार्तापछि राउत पृथकतावादी आन्दोलन छाडेर शान्तिपूर्ण मूलधारको राजनीतिमा आउन सहमत भएको ‘ब्रिफिङ’ गरेका थिए ।

‘हिंसा छाड्ने, पृथकतावादी सोच परित्याग गर्ने र स्वतन्त्र मधेसको माग छाडेर मूलधारको राजनीतिमा लाग्ने प्रतिबद्धतापछि सहमतिको वातावरण बनेको प्रधानमन्त्रीले ब्रिफिङ गरेका थिए । नयाँ पत्रिकाबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here