पानीजहाजका लागि रुट सिफारिश

0
87

काठमाडौं, २६ फगुन । नेपाल र भारतबीच गण्डक/नारायणली नदीमा जल यातायात सञ्चालनका लागि तत्कालै प्राविधिक अध्ययन सुरु गर्ने सहमति भएको छ । भारतले हाल गंगा नदीमा विकास गरिरहेको जल यातायातबाट नेपाललेसमेत लाभ लिन सक्नेगरी तीनवटा रुट पहिचान गरी सिफारिशसमेत गरिएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न दुई देशका अधिकारीहरूको बैठकले पानीजहाज सञ्चालनका लागि रुट सिफारिश गर्दै प्राविधिक अध्ययन गर्ने निर्णय गरेको हो । संयुक्त प्राविधिक समितिमा नेपाल र भारतका तीन÷तीन सदस्य रहने जनाइएको छ ।

नेपालका तर्फबाट जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव माधव बेल्वासे र भारतका तर्फबाट भारतीय अन्तरदेशीय जल यातायात प्राधिकरणका उपाध्यक्ष प्रविर पाण्डेले नेतृत्व गरेको बैठकले बहुपक्षीय प्राविधिक सहायता परिचालन गरी विस्तृत अध्ययन गर्ने सहमति जुटाएको हो ।

बैठकमा नेपाल पक्षले भारतले गंगा नदीमा विकास गरिरहेको जलयातायात रुटमा नेपालमा दर्ता भएका पानीजहाज सञ्चालनको सम्भावना सम्बन्धमा चासो राखेको थियो । भारतीय पक्षबाट यससम्बन्धी कानुनी प्रावधान अध्ययन गरी जानकारी गराउने आवश्वासन आएको बैठकमा सहभागी नेपाली टोलीका सदस्यले जनाएका छन् । नेपाल जल यातायात सञ्चालन गर्न प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि गर्ने सम्बन्धमा भारतमा कार्यक्रम सञ्चालन गर्न भारतीय दूतावाससँग छलफल गरी सम्भावना पहिल्याउने सहमति जुटेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

गण्डकी, नारायणी र कोसी नदीमा जल यातायातको सम्भावना तथा पूर्वाधार विकाससम्बन्धी अध्ययन स्थलगत अध्ययनपछि दुई देशका अधिकारीबीच बैठक भएको हो । बैठकले सन् १९९९ मा भएको पारवहन सन्धिमा भएको व्यहोरामा संशोधन गरी भारतले हाल गंगा नदीमा विकास गरिरहेको जल यातायातबाट नेपालले तत्काल लाभ लिनसक्ने तीन रुट संलग्न गर्न सिफारिश गरेको हो । सिफारिश गरिएका रुटमा साहेबगञ्ज–मरिहरि, साहेबगञ्ज भागलपुर–जोगबनी, कुलाघाट–रक्सौल/विराटनगर छन् ।

पारवहन सन्धिमा अध्ययन गरी संशोधनको सिफारिशसहित अन्य चार रुट पहिल्याइएको छ । संयुक्त अध्ययन सुरु गर्ने चार रुटमा साहेबगञ्ज–मरीहरी–पानीट्यांकी र काँकडभिट्टा, हल्दिया– वाराणसी–सुनौली र भैरहवा, कालुघाट–वाल्मीकिनगर र गण्डक ब्यारेज र साहेबगञ्ज–भीमनगर कोशी ब्यारेज रहेको जनाइएको छ ।

बैठकमा नेपालको पक्षबाट दशजना र भारतका तर्फबाट आठ जना सहभागी थिए । दुवै देशको संयुक्त अध्ययन टोलीले नारायणी तथा कोशी नदीमा जल यातायातको सम्भावना तथा पूर्वाधार विकास सम्बन्धमा फागुन २० देखि २२ गतेसम्म स्थलगत अध्ययन गरेको थियो ।

सरकारले नारायणी नदीको गण्डक बाँध हुँदै पानीजहाज ल्याउने गरी पानीजहाज कार्यालय स्थापना गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष चैत २३ देखि २५ गतेसम्म गरेको भारत भ्रमणको क्रममा जारी भएको संयुक्त वक्तव्यको बुँदा नं ९ मा नेपाल र भारतबीच जलमार्गले जोड्ने विषय समेटिएको थियो । सोही आधारमा दुई देशबीच जलमार्गको विषयमा सम्भाव्यता अध्ययनसँगै छलफल हुँदै आएको छ ।हिमालय टाइम्सबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here