बम दिदीबहिनी भन्छन्ः दोषी प्रमाणित गरे जेल जान तयार छौँ

0
130

काठमाडौ, माघ १४ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार हत्या काण्डमा आफूहरूको कुनै संलग्नता नरहेको बम दिदीबहिनीले स्पष्ट पारेका छन्।

उनीहरूले यो प्रकरणमा दोषी प्रमाणित गरे आफूहरू जस्तोसुकै सजाय पनि भोग्न तयार रहेको बताए।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूलाई मानव अधिकारकर्मी भन्नेहरूले चरित्र हत्या गर्नेगरी स्थलगत अध्ययन तथा अनुसन्धान नै नगरी गलत प्रतिवेदन बाहिर ल्याएको पनि आरोप लगाए। निर्मलाकी साथीसमेत रहेकी रोशनी बमले भनिन्, ‘निर्मला मेरी साथी हुन्। यो प्रकरणमा मिडियाले पनि सत्य कुरा बाहिर ल्याउनुपर्छ।’

प्रहरी अनुसन्धानले आफूहरूलाई दोषी सावित गरिनसकेको अवस्थामा असोज महिनातिर नेपाल मानव अधिकार संगठनको नामबाट चरित्र हत्या गर्नेगरी र आफूहरूलाई उक्त हत्याको मतियार भन्दै प्रतिवेदन बाहिर ल्याएको भन्दै उनले कडा आक्रोश पोखिन्।

उनले भनिन्,‘नेपाल मानव अधिकार संगठनको नामबाट हाम्रो चरित्रहत्या गर्नेगरी र हामीलाई त्यस हत्याको मतियार भन्दै उक्त संगठनका अध्यक्ष ईन्द्र प्रसाद अर्याल, संस्थाका महासचिव महामुनीश्वर आचार्य र कञ्चनपुर जिल्ला अध्यक्ष त्रिभुवन भट्टले प्रतिवेदन सार्वजनिक गरे।’

अर्यालले आफूहरूसँग एक वचन पनि नसोधेको उनले जिकिर गरिन्।

उनले भनिन्,‘न हामीलाई भेटे, न हाम्रा छिमेकीहरूलाई नै सोधे यसलाई कसरी प्रमाणित गर्छन् ? मेरी दिदी अहिलेसम्म त्यो होटलमा गएर नगएको उनीहरूले बुझ्न समेत चाहेनन्।’

आफ्नो प्रतिवेदनमा दाबी गरेको कुरालाई सार्वजनिक रूपमा पुष्टि गर्नुपर्ने नेपाल मानव अधिकार संगठन र यसका पदाधिकारी इन्द्र अर्याल, महामुनिश्वर आचार्य र त्रिभुवन भट्टको दायित्व रहेको उनको भनाइ छ।

रोशनीले भनिन्,‘उनीहरूको प्रतिवेदन सार्वजनिक भएपछि हामी बहिष्कृत, अपमानित र नारकीय सामाजिक जीवन बिताउन बाध्य भएका छौं। हाम्रो पढाइ छुटेको छ, सामाजिक वेइज्जती भएको छ। आफन्त र विद्यालयका साथीहरूले हामीलाई अपराधी र अनैतिक चरित्रका मानिसका रूपमा हेर्ने गर्न थालेको छन्। उक्त झूटो प्रतिवदेनले गर्दा हाम्रो व्यक्तिगत जीवनमा पारेको क्षतिको क्षतिपूर्ति हुनुपर्छ। उनीहरूको प्रतिवेदनले गर्दा हामीमाथि परेको शारीरिक, मानसिक र सामाजिक क्षतिको क्षतिपूर्ति दिलाइ दिन आम सञ्चार माध्यम, पत्रकार दाजुदिदी, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी र बालअधिकारकर्मीहरू समक्ष हार्दिक अनुरोध गर्दछु ।’

पत्रकार सम्मेलनको सुरूमै उनले आफूहरू घटनाक्रम बताउनको लागि नभएर आफ्नो कुरा राख्नको लागि आएको स्पष्ट पारेकी थिइन्।

उनले भनिन्,‘ईन्द्र अर्यालले काठमाडौंको एक घरको कुनामा बसेर प्रतिवेदन लेखेका हुन्। फेस–टु–फेस कुरा गर्न हामीले आज उनलाई यही पत्रकार सम्मेलनमा बोलाएका थियौं । तर, उनी आएनन् । यदि उनी सत्य थिए भने उनी आउनुपर्दथ्यो । एकोहोरो प्रतिवेदन बनाउने काम भयो । अर्याल सही छन भने प्रमाण दिनुपर्यो ।’

पत्रकारले उक्त दिन निर्मला तपाईको घरमा आउँदा के–के कुरा भयो रु त्यो दिनको बारेमा केही बताइदिनुहोस् भनेर सोधेपछि रोशनीले भनिन्,‘त्यो दिन निर्मला मेरो घरमा आएकी थिई । होमवर्क गरेर फर्किएकी थिई। ऊ आउँदा हातमा ग्रिज लागेको थियो । सावुन पानीले धो भनें। अनि हामीबीच पढाइसम्बन्धी कुरा भयो ।’

प्रहरीले अनुसन्धानका लागि भन्दै आफूहरूलाई दुईपटक पक्राउ गरेको सुनाउँदै उनले थपिन्,‘म ७ दिन र दिदी २० दिन हिरासतमा बस्यौं । प्रहरीले हामीमाथि अनेक तरहले अनुसन्धान गर्यो। कतिपय बेला आरोप स्वीकार गर्न शारीरिक र मानसिक यातना समेत दियो ।’

प्रहरीले आफूहरूको माबाइलको कल डिटेल पनि चेक गरेको र एक महिनासम्म दिदीको मोबाइल प्रहरीको नियन्त्रणमै राखेको तर, कुनै पनि कोणबाट घटनामा आफूहरूको संलग्नता पुष्टि नभएपछि प्रहरीले छोडेको उनले स्पष्ट पारिन्।

तर, प्रहरीले घटनामा आफूहरूको संलग्नता पुष्टि हुने कुनै तथ्य फेला नपरेको भन्दै छोडे पनि समाज, राष्ट्रिय मिडिया र सामाजिक सञ्जालले आफूहरूलाई अपराधीको रूपमा चित्रित गर्न नछोडेको उनको गुनासो छ ।

कार्यक्रममा दिदी बबिता बमले आफूहरू दोषी प्रमाणित भए जेल जान तयार रहेको बताइन्।

उनले थपिन्,‘दोषी को हो भनेर राज्यले छानबिन गर्ने हो। यो सरकारको काम हो । ईन्द्रप्रसाद अर्यालले आफ्नो प्रतिवेदनमा लेखेका सबै कुरा झूटो छन् । उनले झूटो कुरा लेखेर हाम्रो बद्नाम गरे। एउटा कुरा पनि सत्य छैन । यदि उनले लेखेको कुरा प्रमाणित भए हामी जेल जान तयार छौं ।’

बिना आधार र प्रमाण, र सत्य तथ्य नबुझी एकपक्षीय रूपमा आफूहरूको चरित्र हत्या गर्ने प्रतिवेदन ल्याएको नेपाल मानव अधिकार संगठनविरूद्ध अदालत जाने समेत उनले चेतावनी दिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here