सोमबारसम्म लक्की शेर्पाले राजीनामा नदिए बर्खास्त

काठमाडौं, पुस २७ । सरकारले अष्ट्रेलियका लागि नेपाली राजदूत लक्की शेर्पालाई राजीनामा गर्न आउँदो सोमबारसम्मको समयसीमा दिएको छ । उक्त समयअवधिभित्र पनि उनी आफैले राजीनामा नदिए उनलाई त्यसपछि बस्ने मन्त्रीपरिषद् बैठकले बर्खास्त गर्ने भएको छ।

बिभिन्न मिडियामा प्रकाशित समाचारअनुसार राजदूत शेर्पा आफैले केही दिनको समय माग गरेपछि उनलाई सोमबार सम्मको समयावधि दिइएको हो । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले राजदूत शेर्पालाई कुनै निकास दिन भनेको बताएका थिए ।

राजदूत शेर्पाले समय मागेपछि ओली–प्रचण्डले सोमबारसम्मको समयावधि दिएका हुन् ।

शेर्पा तत्कालिन एमाओवादीको कोटाबाट राजदूत बनेकी थिइन् । कुटनीतिक सुविधा अन्तर्गत अष्ट्रेलिया लगिएका ड्राइभरले मानव तस्करीको आरोप लगाएपछि राजदूत शेर्पा विवादको घेरामा तानिएकी छन्।