राष्ट्रपति भण्डारीद्धारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण (फोटोफिचर)

काठमाडौं, पुस २७ । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज सिंहदरवार पश्चिम गेटमा रहेको शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले २९७ औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज आयोजित समारोहमा सरिक भई शाहको शालिकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरेकी हुन् ।

सो अवसरमा नेपाली सेनाको बैण्डसहितको टुकडीले सम्मान अर्पण गरेको थियो । विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।

तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको इतिहासविद्हरुको भनाइ छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले पनि शाहप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । श्रद्धाञ्जलि व्यक्त गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनी लगायत विभिन्न राजनीतिक दलका नेता, साहित्यकार, कलाकार एवं समाजका विभिन्न क्षेत्रका महानुभाव सिंहदरबारको पश्चिम मूलद्वार अगाडि पुगेका थिए ।

 

पृथ्वी नारणण शाहले नेपाल एकीकरणमा महत्वपूर्ण योगदान दिएको स्मरणमा पृथ्वी जयन्ती मनाउने गरिएको छ । यद्यपी पृथ्वी जयन्तीमा सरकारले यसअघि विदा दिने निर्णय गरेपनि हाल कटौती भएको छ । रासस