अभिलेखमा ४७ विद्यार्थी, कक्षामा शून्य

सिरहा,  पुस २७ ।  सखुवानन्कारकट्टी गाउँपालिका–२, सोठियाइनस्थित मनेलाल जनता माविमा कक्षा ११ र १२ मा ४७ विद्यार्थी अध्यनरत छन्। अभिलेखअनुसार कक्षा ११ मा २५ र कक्षा १२ मा २२ जना विद्यार्थी छन्। तर, कक्षामा पढाइ हुँदैन्।

विद्यालय पुग्दा न अभिलेखमा भएका विद्यार्थी भेटिए न पढाउने शिक्षक भेटिए। भेटियो त विद्यार्थीको अभिलेख भरिएको रजिष्टरमात्र। रजिष्टरमा नाम भएका विद्यार्थी कक्षामा पढ्न आउँदैनन्। कक्षामा पढ्न नआए पनि उनीहरु परीक्षा फाराम भर्छन्, तोकिएको परीक्षा केन्द्रमा पुग्छन् र परीक्षा दिन्छन्।

०६७–०६८ सालमा ११ र १२ कक्षा सञ्चालन अनुमति पाएको मनेलाल माविका पहिलो ‘ब्याच’ का विद्यार्थीले नियमित कक्षा लिन आएको शिक्षकहरु बताउँछन्। तर, पछिल्लो ‘ब्याच’ का विद्यार्थी कक्षामा उपस्थित नभईकन वार्षिक परीक्षामा सहभागी हुँदै आएका छन्। विद्यार्थीले वर्षभरिको शुल्क पनि एकमुष्ट तिर्छन्।

विद्यालयले विभिन शीर्षकमा कक्षा ११ का विद्यार्थीबाट वार्षिक चार हजार सात सय रुपैयाँ र कक्षा १२ का विद्यार्थीबाट चार हजार ५ सय रुपैयाँ शुल्क लिने गरेकोछ। शुल्क एकमुष्ट लिने गरिएको सहायक प्रधानाध्यापक श्रीप्रसाद यादवले बताए। उनका अनुसार विद्यालयले रजिष्ट्रेसन, परीक्षा, स्टेसनरी, पुस्तकालय र मासिक शिक्षणबापत शुल्क लिने गरेको छ।

‘स्थानीय नै शिक्षक हुँदा पठनपाठनमा लापरबाही बढेको छ, कोही बोल्न सक्दैनन्। शिक्षक हाजिर गर्छन् घर फर्कन्छन्।’

कक्षा सञ्चालन नभए पनि परीक्षाकै लागि विद्यालयले हाजिरी प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डको कार्यालय, लहानमा पठाउँदै आएको छ। प्रधानाध्यापक राजेन्द्र यादवका अनुसार खासगरी कक्षा ११ र १२ मा पढाउने छुट्टै शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको हो। शिक्षक नहुँंद कक्षा नभएको उनले बताए।

कक्षा ११ र १२ मा पढाउने गरी एक शिक्षकको दरबन्दी पनि छ। ‘दरबन्दीका शिक्षक नियुक्त गर्न नसकेकाले समस्या भएको छ, छिट्टै नियुक्ति प्रक्रिया अघि बढाउँछौं,’ उनले भने। विद्यालयमा व्यवस्थापन समिति नभएको दुई वर्षभन्दा धेरै भइसक्यो। ‘व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला बोलाउँदा पनि कसैले चासो देखाउँदैनन्,’ सहायक प्रधानाध्यापक श्रीप्रसादले भने।

स्थानीय बुद्धिजीवी रामसुफल यादवका अनुसार अधिकांश शिक्षक गाउँकै भएकाले पढाइमा उनीहरुले बेवास्ता गर्दै आएका छन्। व्यवस्थापन समिति गठनका लागि पनि पनि प्रधानाध्यापकले नै पहल नगरेको उनको गुनासो छ। ‘स्थानीय शिक्षक हुँदा विद्यालयमा पढाइप्रति लापरबाही बढेको छ, कोही बोल्न सक्दैनन्,’ अर्का स्थानीय मनोज यादवले भने्, ‘शिक्षक हाजिर गर्छन् घर फर्कन्छन्।’

बेथिति यतिसम्म छ कि विद्यालयमा पुस्तकालय नभए पनि विद्यार्थीबाट पुस्तकालय शुल्क असुलिन्छ। सखुवानन्कारकट्टी गाउँपालिकाका शिक्षा शाखा प्रमुख विजय यादवका अनुसार पुस्तकालयबापत आर्थिक वर्ष २०७४–०७५ मा ५० हजार रुपैयाँ सो विद्यालयमा पठाइएको छ। चालु आर्थिक वर्षमा पनि विद्यालयका लागि पुस्तकालयबापत अनुदान आएको उनले बताए।

कम्प्युटर प्रयोगात्मक हुँदैन
कक्षा ६, ७ र ८ मा कम्प्युटर विषय पढाइ हुन्छ। तर, ती कक्षाका विद्यार्थीले कम्प्युटर प्रयोगात्मक गर्न पाउँदैनन्। किताबमा कम्प्युटर हेरेकै र पढेकै भरमा विद्यार्थी परीक्षा दिन्छन्। ‘हामी कम्प्युटर देखेकै छैनौं,’ कक्षा ८ कि छात्रा करिनाकुमारी साहले भनिन्, ‘किताबकै भरमा परीक्षा दिन्छौं।’

हामीले कम्प्युटर प्रयोगात्मकका लागि पटक पटक माग गर्दै आए पनि शिक्षक नभएको, कम्प्युटन नभएको वहानामा बनाएर पन्छाउने गरेको उनले बताइन। तै पनि हामीहरु परीक्षा दिनुअघि विभिन्न शिर्षकमा छुट्याइएको शुल्क तिरिरहेका छौं, उनले भनिन्। कम्प्युटर पढाउनकै लागि विद्यालयका शिक्षक नरेन्द्र गुप्तालाई कम्प्युटर शिक्षण सम्बन्धि तालिम पनि दिइएको विद्यालयका साहायक प्रअ यादवले भने।