त्रिविको जग्गा मिचेर बाटैबाटो

0
35

ढिलो भइसक्यो, चारैतिर पर्खाल लगाएर विश्वविद्यालयको जग्गा सुरक्षा गर्नुपर्छ  – कृष्णगोपाल श्रेष्ठसांसद, नेकपा (श्रेष्ठ उनै व्यक्ति हुन्, जसले डोजर लगाएर पर्खाल भत्काई बाटो खोल्ने अभियानको नेतृत्व गरेका थिए)

काठमाडौँ, त्रिभुवन विश्वविद्यालयको मूल गेट उत्तरतर्फको पर्खाल तीन वर्षअघि स्थानीयले डोजर लगाएर भत्काइदिए । भत्काउनुको उद्देश्य थियो, विश्वविद्यालयको जग्गा अतिक्रमण गरेर घरसम्म गाडी पुग्ने मोटर बाटो खोल्ने ।

यसको अभियन्ता थिए, नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठ । उनले यो बाटोलाई पिचसमेत गराउन चाहेका थिए । त्रिविले विरोध जनाएपछि सकेनन् । गोरेटो बाटोसमेत नभएको यो ठाउँमा अहिले ठूला गाडीचल्छन् । विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारका लागि निर्माणाधीन भवनको पछाडिपट्टि जग्गा मिचेर बाटो बनाइएको हो । त्रिविको जग्गामा बाटो बनाएपछि व्यक्तिगत जग्गा चर्को मूल्य लिएर भाडामा लगाउन र व्यापारिक भवन बनाउन थालिएको छ । बाटो खोलेसँगै घरको कोठासमेत भत्काएर सटर राख्ने क्रम बढेको छ ।
बाटो खोलिएपछि त्रिविले आफ्नो जग्गा छाडेर काँडेतार लगाएको छ । विश्वविद्यालयका पदाधिकारीका अनुसार सरकारबाट बजेट पारेर पर्खाल लगाउनेसर्तमा बाटो खोल्न दिइएको हो । ‘धेरै प्रयास गर्दा पनि रोक्न सकेनौं,’ एक पदाधिकारीले भने । कुमारी क्लब छेउबाट त्रिविको गेटसम्म समेत यो फराकिलो बाटोबाट सहजै निस्कन सकिन्छ ।

परीक्षा नियन्त्रण कार्यालयबाट नेपाल बैंकतर्फ जाने बाटो पनि त्रिविकै जग्गामा बनाइएको छ । पहिले गोरेटो बाटो थियो । अहिले चौडा बनाएर पिच गरिसकिएको छ । गोरेटो बाटो भएका ठाउँमा स्थानीयको सुविधाका लागि विश्वविद्यालयको सहमतिमा केही जग्गा लिएर बाटो खोलिएको सांसद श्रेष्ठले बताए ।

‘जनताको हितका लागि बाटो फराकिलो बनाइएको हो,’ उनले भने, ‘बाटो बनाएपछि विश्वविद्यालयले काँडेतार लगाएर योभन्दा यताचाहिँ आउन पाइँदैन है भनिसकेको छ । खानेपानीको टयांकर, दमकलसमेत बस्तीमा सहजै छिर्न सक्ने भएको छ ।’ यस वर्ष केन्द्र, प्रदेश र स्थानीय सरकारबाट पर्खाल लगाउनका लागि बजेट व्यवस्थापन गर्न नसकिएको उनले बताए । यो बाटो खुलेपछि बस्तीमारहेका विश्वविद्यालयकाकर्मचारी, प्राध्यापकलगायत प्राज्ञिक समुदायले समेत सुविधा लिइरहेको उनले दाबी गरे । कर्मचारी भने पदाधिकारीकमजोर हुँदा त्रिविको जग्गामाथि बाघको छालामा स्यालको रजाइँ भइरहेको बताउँछन् ।

‘विश्वविद्यालयका सबैतिरको जग्गा मिचेर घरघरमा जाने बाटो बनाएका छन्,’ ३८ वर्षसम्म विश्वविद्यालयको सम्पत्ति व्यवस्थापन शाखामा काम गरेका मुकुन्द थापाले भने, ‘गोरेटो बाटो भएको विश्वविद्यालयको जग्गामा फराकिलो पिच बाटो बनाएको देख्दा दु:ख लाग्छ ।’ विश्वविद्यालयले तत्काल आफ्नो जग्गामा पर्खाल लगाएर सम्पत्ति रक्षा गर्नुपर्ने उनी बताउँछन् ।

गोरेटो नभएका ठाउँमा फराकिलो सडक

विश्वविद्यायलले तीन करोड ८ लाख खानेपानी महसुल मिनाहा गर्ने सर्तमा मेलम्ची खानेपानी आयोजनालाई उपलब्ध गराएको २५ रोपनी जग्गाभन्दा भित्तातिर स्थानीयले बाटो बनाएका छन् ।

विश्वविद्यालयको पश्चिमतर्फको यो बाटो खोल्ने कुरामा विवाद भए पनि आफ्नै जग्गामा बाटो बनाउन अनुमति दिएको त्रिवि स्रोतले जनाएको छ । ‘अहिले बाटो बढाउन त्रिविले मात्रै जग्गा दिनुपर्ने भनी बाटो नजिक घर हुने व्यक्तिहरू लागिरहेका छन्,’ त्रिविका एक कर्मचारीले भने, ‘बाटाका लागि थप जग्गा नदिए पर्खाल भत्काउने धम्कीसमेत दिएका छन् ।’

उच्च शिक्षा परियोजनाको रकमबाट पर्खाल लगाइएको थियो । कीर्तिपुर बजार जाने मूल गेट हुँदै स्कुल अफ म्यानेजमेन्टसम्म जान त्रिविको जग्गामा फराकिलो बाटो बनाइएको छ । नापी कार्यालयको नक्साको सिट नम्बर १०२११८२१७ र १०२११८२२२ मा यहाँ गोरेटो बाटोसमेत छैन । यहाँ अहिले ठूला गाडी सहजै जान सक्छन् । त्रिविले लगाएको पर्खाल विभिन्न ठाउँमा भत्काइएको छ । त्रिविकै बाहालवाला/सेवानिवृत्त शिक्षक, कर्मचारीको यो क्षेत्रमा घर छ ।

पर्खाल भत्काएर सडक

स्कुल अफ म्यानेजमेन्ट पछाडिको पर्खाल भत्काएर मूल बाटो बनाइएको छ । ‘थोरै जग्गा किनेर घर बनाउने अनि धेरै कब्जा गर्नेले

आफ्नो जग्गा नछोडी त्रिविकै जग्गाबाट सबै सुविधा उपभोग गर्ने गरी बाटो बनाएका छन्,’ त्रिविका एक कर्मचारीले भने । पर्खाल भत्काएर सडक बनाएसँगै स्थानीयले विश्वविद्यालयकै जग्गामा फोहोर फयाँक्ने गरेका छन् ।

कुशेश्वर मन्दिरबाट पश्चिमतर्फ निर्धाणाधीन कन्फिलक्ट पिस एन्ड डेभेलपमेन्टको भवनसँगैका घरधनीले त्रिविको जग्गा कब्जा गरी आफ्नो सुविधाको ढल र बाटो बनाएका छन् । यहाँ पनि त्रिविको जग्गामा बाटो बनाइएको छ । विश्वविद्यालय परिसर हुँदै स्थानीयको बस्तीमा जाने बाटो बनाएपछि स्कुल अफ म्यानेजमेन्ट वरपर नाङले व्यापार र चनाचटपटे बिक्री गर्नेले अडडा जमाएका छन् । रिङरोडदेखि कुशेश्वर मन्दिरसम्मको गाडी गुड्ने बाटो सबै त्रिविकै जग्गामा बनेको छ । ‘पहिला गोरेटो मात्रै थियो, अहिले मोटर बाटो बनेको छ,’ कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले भने ।

जग्गा छाडेर कम्पाउन्ड

विश्वविद्यालयले मन्दिरनजिक चाइनिज एकेडेमी अफ साइन्स काठमाडौं सेन्टर (क्यास) लाई ३० रोपनी जग्गामा संरचना बनाउन दिएको थियो । यो संस्थाले संरचना बनाएपछि त्रिविको जग्गा छाडेर कम्पाउन्ड लगाएको छ । ‘स्थानीयको घरको सुरसम्म विश्वविद्यालयको जग्गा हो,’ एक कर्मचारी भन्छन्, ‘अहिले भएको फराकिलो बाटोभन्दा पनि धेरै जग्गा छाडेर अर्को बार लगाउनु गलत हो ।’

स्थानीयको दबाबमा त्रिविले बाध्य भएर उनीहरूले भनेझैं जग्गा छाडेर कम्पाउन्ड लगाएको कर्मचारीको आरोप छ । त्रिविले धेरै जग्गा छाडेपछि अब स्थानीयले जुनसुकै संरचना बनाउन सक्ने भएका छन् । गणतन्त्र स्तम्भ बनाएको ६० रोपनी जग्गामा छिर्ने बाटोछेउ मोटर वर्कसपको गाडी पार्किङ पनि विश्वविद्यालयकै जग्गा बनाइएको छ ।

बालुवा, गिट्टी र इँटा बिक्री केन्द्रसमेत विश्वविद्यालयकै जग्गामा बनाइएको छ । रिङरोडबाट गणतन्त्र स्मारक जाने बाटो चारैतिरबाट बनाउन खोजिएको छ । स्थानीयले आफ्नो जग्गामा पर्खाल लगाएर संरक्षण गरेका छन् । बाटोजति विश्वविद्यालयको जग्गामा बनाएका छन् । कृषि विभागको भवन रहेको मोडबाटै बागवानी केन्द्रको पर्खाल हुँदै फराकिलो बाटो बनाइएको छ । ल्याबोरेटरी स्कुलको चोकमा निस्कने मूलबाटो हुँदाहुँदै उकालामा अर्को बाटो बनाइएको हो ।

चारैतिर खुला

त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले आफ्नो कार्यकालमा दुई ठाउँबाट मात्रै बाटो दिइएकामा अहिले चारैतिरबाट छिर्न सकिने भएको बताए । कीर्तिपुरको तीनकुनेबाट र बल्खुबाट जाँदा मूल गेटबाट मात्रै छिर्ने व्यवस्था रहेको उनले बताए ।

सांसद कृष्णगोपाल श्रेष्ठले विश्वविद्यालयले आफ्नो जग्गामा पर्खाल लगाएर संरक्षण गर्न ढिलाइ भइसकेको बताए । ‘चारैतिर पर्खाल लगाएर विश्वविद्यालयको जग्गा सुरक्षा गर्नुपर्छ । सबैतिर खुला छ । जग्गा अनधिकृत अतिक्रमण हुनेखतरा छ,’ उनले भने । रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले चारैतिर पर्खाल लगाउने कुनै योजना नभएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here