खोटाङको हलेसीमा बसपार्क निर्माण गर्न निःशुल्क जग्गा

खोटाङ, पुस २६ । खोटाङको हलेसीमा बसपार्क निमाणका लिागी पाँच स्थानीय बासिन्दाले निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।

धार्मिक तथा पर्यटकीयस्थल तुवाचुङ नगरपालिका–७ का प्रकाशचन्द्र गिरीले तीन रोपनी आठ आना, प्रेमकुमारी गिरीले दुई रोपनी, जीतबहादुर बस्नेतले दुई रोपनी, थीरकुमार बस्नेत र तीर्थकुमार बस्नेतले बसपार्क निर्माणका लागि चार/चार आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।

हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्र हलेसी आउने दर्शनार्थीले जथाभावीरूपले सवारी साधन राख्दै आएकाले बसपार्कका लागि आ–आफ्नातर्फबाट लागि करीब रु तीन करोड बराबरको आठ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउको नगरपालिकाले जनाएको छ । “बसपार्कको अभावमा हलेसीमा बास बस्ने पर्यटकले ल्याएका सवारीसाधन जथाभावी पार्किङ गर्नुपर्ने बाध्यता थियो” । “प्राप्त जग्गामा यसै वर्ष बसपार्क निर्माण गरेर लामो समयदेखिको समस्या समाधान गर्नेछौँ गनरपालिकाले जनाएको छ” ।

जग्गादाताले हलेसी मन्दिरको उत्तरी क्षेत्रमा पर्ने पात्ले भन्ने ठाउँमा रहेको जग्गा बुधबार जिल्ला मालपोत कार्यालयमा गएर नगरपालिकाको नाममा नामसारी गरिदिएका छन् । बसपार्क निर्माणका लागि सहरी विकास मन्त्रालयबाट रु तीन करोड बजेट स्वीकृत भएलगत्तै नगरपालिकाले निःशुल्क जग्गा जुटाउन पहल थालेकोे थियो ।

दर्शनार्थीको दैनिक बाक्लो भीड लाग्ने हलेसीमा सुविधासम्पन्न बसपार्क निर्माणका लागि कम्तिमा पनि दश रोपनी जग्गा आवश्यक पर्ने भएकाले थप जग्गाका लागि पहल भइरहेको नगरपालिकाले जनाएको छ । प्राप्त जग्गामा कार्यालय भवन, आवास, कर्मचारी, यात्रु प्रतिक्षालय, शौचालय, धारा, बाथरुम, चमेनागृहगायत संरचना हुने नगरप्रमुख इवन राईको भनइ छ ।

सवारीसाधनको दैनिक बाक्लो चाप लाग्ने हलेसीमा नगरपालिकाले भाडामा जग्गा लिएर अस्थायी बसपार्क बनाएको थियो ।