‘पिक एण्ड ड्रप’ले यात्रुलाई सास्ती, पकेटमारको डर बढ्यो

0
106

काठमाडौं, पुस १५ । काठमाडौं टोखाका विक्रम श्रेष्ठ पुल्चोकस्थित कार्यालय जानको लागि भृकुटीमण्डपमा आफू चढेको माइक्रोबास रोक्न खोज्दै थिए । तर, कन्डक्टरले नयाँ नियमअनुसार यहाँ रोक्न मिल्दैन भन्दै काठमाडौं मल अगाडि पुर्याएर झर्नुस् भने । त्यसपछि जावलाखेल/लगनखेल जाने माइक्रोबस रोक्न खोजे कसैले रोकेनन् । नजिकै रहेको ट्राफिकले भन्दै थिए । ‘यहाँ अहिले रोक्न पाइँदैन ।’ विक्रमले सोधे– कहाँबाट चढ्न पाइन्छ त सर ? – रत्नपार्कबाट, ट्राफिकले जवाफ दिए ।

सिट,नपाइने, खाँदाखाँद गाडी, कन्डक्टरको किचकिच लगायतको सकसपूर्ण यात्रा गर्नुको पीडा एकातिर छ अर्कोतिर गाडी चढ्न पनि टुंडिखेल एक फन्को मार्नुपर्ने ! भन्दै उनी मुर्मुरिदै हतार–हतारमा रत्नपार्कतिर लागे ।

बढ्दो सवारी जाममा कमी ल्याउन भन्दै काठमाडौं महानगरपालिकाले पुस १ गतेबाट टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधानले यात्रु पर्खेर बस्न नपाउने गरी ओराल्ने र चढाउने ‘पिक एण्ड ड्रप अभियानको शुरु गरेको छ । विक्रम त्यसैको मारमा परे । उनीजस्ता सयौं यात्रुले टुँडिखेल वरिपरि यस्तै नियती भोग्नु परेको छ ।

सिनामंगल जान गाडी कुर्दै गरेकी उषा भट्ट भन्दै थिइन् ‘महानगरको यो नियमले सडकमा पहिलाजस्तो जाम चाँही नहोला तर, यो साँघुरो फुटपाथमा हामी कसरी हिँड्ने ? त्यसैमाथि बाटोमा ब्यापार भएका छन् । भिडमा गाडी कुर्दा पकेटमारको पनि उत्तिकै डर हुने भयो ।’

सरकार र नेताहरुलाई गाली गर्दै भनिन् ‘नेताहरुलाई जाममा परे भनेर हामीलाई दुःख दिएका होलान् । यिनीहरुलाई जनताको के माया ? न कहिल्यै फुटपाथबाट हिड्नु परेको छ न यीनको सन्तान ले नै यस्तो कष्ट भोग्नु परेको छ ।’

आफूहरुलाई यो नीतिले दुःख दिएको भन्दै मंगलबार तथा बुधबार बिहान भृकुटीमण्डप क्षेत्रमा गाडी कुरेर बसेका यात्रुहरुले प्रदर्शन नै गरे ।

यात्रुहरु उभिएर सडक अवरुद्ध गर्न थालेपछि प्रहरीले लाठिचार्ज गरी भीडलाई नियन्त्रणमा लियो । ट्राफिक महाशाखाले जाम हटाउने नाममा प्रहरीले दुःख दिने काम गरेको भन्दै यात्रुहरु सडक छेक्दै प्रदर्शनमा उत्रिएका थिए ।

त्यसोत टुँडिखेल वरपरका बाटोहरु पनि गतिलो छैन । फोहोर र दुर्गन्धित बाटोमा धेकेलाधकेल गर्दै अघि बढ्नुपर्ने । फुटपाथमा अव्यवस्थित तरिकाले रोपिकएका रुखहरुले गर्दा कठिनाइ भएको यात्रुहरुको गुनासो छ । यात्रुहरुले हामीसँगको कुराकानीको क्रममा निजी सवारी हुनेहरुको लागि यो नियम साह्रै राम्रो हो तर, हामी नहुनेहरुको व्याथा कसले बुझिदिने भनेर प्रश्न गरेका छन् । उनीहरुको भनाई छः एक पटक हामीसँग यात्रा गर्नुहोस् अनी थाहा हुन्छ हाम्रो यात्रा कति पीडादायी छ भनेर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here