विराट मेडिकल कलेजले निःशुल्क भन्दै १५ लाख असुल्दै, खानाबापत ९ लाख र इन्टर्नसिप थप २ लाख असुल्यो

0
22

काठमाडौँं, मंसिर २८ । विराटनगरस्थित विराट मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा निःशुल्क एबीबीएस पढ्ने विद्यार्थीसँग विभिन्न नाममा साढे १५ लाखभन्दा बढी असुल्ने गरेको छ ।

विद्यार्थी र अभिभावकले निस्शुल्क छात्रवृत्तिमै शुल्क तिर्नुपरेको भन्दै हस्तक्षेप गर्न सरकार र शिक्षामन्त्रीलाई आग्रह गरेका छन् । काठमाडौं विश्वविद्यालयको छात्रवृत्तिअन्तर्गत छनोट भएका विद्यार्थीका अनुसार कलेजले अनिवार्य होस्टल र खानाबापत ५ वर्षमा ९ लाख ३० हजार रुपैयाँ बुझाउन भनेको छ । यसअन्तर्गत बर्सेनि ९० हजार खाना र ९६ हजार होस्टलको शुल्क छ । यस्तै इन्टर्नसिप शुल्क २ लाख तोकिएको छ ।

‘होस्टलमा नबस्दा, मेसमा नखाँदा एड्मिसन हुन्न भन्छन्,’ छात्रवृत्ति पाएका विद्यार्थीका अभिभावक महानन्द झा भन्छन्, ‘जेहनदार भनेर पढ्न पाए पनि ५ वर्षमा विभिन्न नाममा करिब १५ लाख ५५ हजार १ सय ४५ रुपैयाँ तिर्न बाध्य पार्नु कस्तो सरकारी छात्रवृत्ति हो रु’

निस्शुल्क छात्रवृत्तिका लागि विराटमा पढ्न चयन भएका पोखराका कुलदीप तिमिल्सिनाले कान्तिपुरसँग भने, ‘त्यति महँगो पर्ने होस्टल अनिवार्य नहुनुपर्ने हो, सरकारको निस्शुल्क छात्रवृत्तिमा यतिको शुल्क नलाग्नुपर्ने हो ।’

निस्शुल्क छात्रवृत्ति पाएका सल्यानका कृष्ण डीसीले भर्ना गर्ने बेला अन्य सस्तो ठाउँमा बस्छु भन्दा कलेजका अधिकारीहरूले नमानेको बताए । ‘यहाँ होस्टलमा अनिवार्य रूपमा बस्न भनिएको छ । अन्य शुल्क पनि बढी छ । अरू कलेजमा यस्तो छैन ।’

विराटले इन्टर्नसिप फी भनेर पहिलो वर्ष १ लाख, दोस्रो वर्ष ५० हजार र तेस्रो वर्ष ५० हजार रुपैयाँ गरी जम्मा दुई लाख रुपैयाँ तिर्न भनेको झाले बताए ।

यस्तै केयू रजिस्ट्रेसन १५ हजार, एमएमसी रजिस्ट्रेसन ३ हजार, एक्जाम फी इन्टरनल १ लाख ३० हजार ६ सय ८०, एक्जाम फी केयू ३६ हजार, फिल्ड भिजिट ९३ हजार ४ सय ३६, एमिनिटिज एन्ड मेटेरियल ७० हजार २ सय ७७, मेडिकल इन्स्योरेन्स १५ हजार ८ सय १५, एक्स्ट्रा करिकुलर एक्टिभिटी ३५ हजार ९ सय ३७ र इन्टर्नसिप फी गरी जम्मा ६ लाख १ सय ४५ रुपैयाँ कलेजले मागेको झाले जानकारी दिए ।

यसअन्तर्गत कलेजले भर्नाको समय पहिलो किस्तामा ४ लाख ११ हजार ४ सय ४३ रुपैयाँ शुल्क लिने गरेको छ । भर्ना गराउन जाँदा कलेजसम्बद्घ कर्मचारीले होस्टलमा बस्नैपर्ने र मेसको शुल्क तिर्नैपर्ने बताएको झाले बताए ।

उनका अनुसार छात्रवृत्तिअन्तर्गत भर्ना हुने भनिएका ७ विद्यार्थी र उनका अभिभावक शुल्क सुनेपछि अन्योलमा छन् । एउटा होस्टलको कोठामा ३ जना बस्ने गरी प्रत्येकसँग हरेक महिना ८ हजार रुपैयाँ लिने भनिएको उनले सुनाए । एक महिनामा खानाका लागि ७ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । कान्तिपुर दैनिकबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here