विद्युत्का कर्मचारीमाथि कुटपिट

सांकेतिक फोटो

लहान,  मङ्सिर २०।  हुकिङ गरी विद्युत् चुहावट नियन्त्रण गर्न छडकेमा सिरहा नगरपालिका–१३ स्थित गम्हरीया फूलबरीया पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाका दुई कर्मचारीमाथि स्थानीयवासीले कुटपिट गरेका छन् ।

विद्युत् चोरी नियन्त्रण गर्न गए राति पुगेको टोलीलाई हेर्ने बित्तिकै भेला भएका स्थानीवासीले विद्युत् प्राधिकरणका सिनियर मिटर रिडर कामेश्वर कुसियैत र सहायक अरुण यादवमाथि कुटपिट गरेका हुन् ।

फूलबरीया गमहरियाको एक घरमा मिटर वाइपास गरी पहिले चुहावट गरिरहेको सूचनाको आधारमा छड्केमा पुगेको विद्युत् कर्मचारीमाथि कुटपिट गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाका प्रमुख अवधेशकुमार दुवेले जानकारी दिनुभयो । स्थानीयवासी पवितर यादव, घुरन यादव, श्याम ठाकुरलगायतको समूहले कुटपिट गरेको घाइते कर्मचारीले बताएका छन् । घाइते अरुणलाई सिरहा अस्पतालमा उपचारपछि घर फर्काइएको छ । सिनियर मिटर रिडर कुसियैतको विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचार भइरहेको नेपाल विद्युत् प्राधिकरण सिरहा वितरण केन्द्रका प्रमुख दुवेले जानकारी दिनुभयो । कुटपिट गर्नेविरुद्ध मुद्दा चलाउने तयारी गरिएको छ ।

सात लाख लुटियो

अज्ञात समूहले सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित उग्रचण्डी पेट्रोलपम्प नजिकै एक जनामाथि लुटपाट गरेका छन् । गोलबजारस्थित ज्योति विकास बैंकबाट रकम झिकेर बा ५५ प ४३५५ नम्बरको मोटरसाइकल चढेर आइरहेका धनगढीमाई नगरपालिका–१० निवासी २३ वर्षीय चितकुमार कामैतसँग रहेको नगद रु सात लाख लुटिएको हो ।

गोलबजारबाट लहानतर्फ आउने क्रममा अनटेस्ट लेखेको रातो रङको अपाची मोटरसाइकलमा आएका अपरचित दुई व्यक्तिले झोलामा रहेको उक्त नगद लुटेर फरार भएको प्रहरीले जनाएको छ । लुटपाट गर्नेको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।