अब टुँडिखेल आसपासमा गाडी रोक्न नपाइने

काठमाडौं, मंसिर २० । काठमाडौं महानगरपालिकाले टुँडिखेल आसपासका क्षेत्रमा सवारी रोक्न नदिने भएको छ । महानगरपालिकाको नयाँ नियमअनुसार पुस १ गतेबाट उक्त क्षेत्रमा गाडी रोक्न नपाइने भएको हो ।

सवारी साधनले यात्रु पर्खेर बस्दा अत्याधिक ट्राफिक जाम भएकाले महानगरले यो नियम लागू गर्न लागेको हो ।

मंगलबार राष्ट्रिय सभा गृहमा भएको बैठकमा मेयर विद्यासुन्दर शाक्यले भने, ‘ट्राफिक जामले कर्मचारी, विद्यार्थीदेखि व्यापारी, व्यवसायी सबैको समय बर्बाद भइरहेको छ । जाममा लामो समय सवारी रोक्दा इन्धन खपत नष्ट हुनुका साथै यस्ता सवारीले धुवाँको प्रदुषण पनि बढाएका छन् ।’

यसको लागि महानगरले चाँडै नै यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीसँग सहकार्य गरेर यात्रु “पिक एण्ड ड्रप” नियम लागू गर्न लागेको हो ।