‘निर्मलाको बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई छिट्टै सार्वजनिक गर्ने’

काठमाडौं, मंसिर २० । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा हिजो शंकास्पद एक जना युवालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार निर्मलाको हत्यापछि काठमाडौंमा लुकेर बस्दै आएका भीमदत्त नगरपालिकाका १८ बर्षीय प्रदीप रावललाई सिआईबीले मंगलबार नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताइएको छ ।

रावलसँग स्वयम प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सोधपुछ गरेका थिए ।

उनको गतिविधिका आधारमा उनी नै संलग्न छन् कि भन्ने शंका भएर पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रक्राउ गरिएका युवामाथि अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनायो ।

बयानको क्रममा धेरै कुरा खुल्न आएको प्रहरी स्रोतको दाबी छ । स्वयम् ती युवाले पनि आफूले अपराध गरेको कबुल गरेको बुझिएको छ । प्रहरीले सबै कुरा दुई चार दिनपछि सार्वजनिक गर्ने तयारी गरेको छ ।

उनलाई पक्राउ गर्ने बित्तिकै डिएनए टेस्टका लागि स्याम्पल पठाइएको सिआइबीले जनाएको छ । पक्राउ परेका ती युवा लागूऔषध दुर्व्यसनी हुन् । निर्मला प्रकरणमा शंकाको घेरामा रहेका ती युवा सुदुरपश्चिमबाट हराईरहेका थिए । घटना हुँदा उनी गाउँमै भएको तथा घटनालगत्तै काठमाडौं आएको प्रहरीले बताएको छ ।

यसअघि निर्मला पन्तको हत्यारा भन्दै प्रहरीले भिमदत्त नगरपालिकाकै दीलिपसिंह विष्टलाई पक्राउ गरेको थियो । उनको डिएनए नमिलेपछि थुनामुक्त गरिएको थियो । यस्तै एसपी बिष्ट, उनका छोरासहित पाँच जनाको डिएनए पनि परीक्षण भएको थियो । उनीहरुको पनि नेगेटिभ रिपोर्ट आएको थियो ।

हत्यारा पत्ता लगाउन माग गर्दै निर्मलाका आफन्तहरु कञ्चनपुरमा धर्नामा बसिरहेका छन् ।