अमेरिकी दुई लडाकु विमान दुर्घटना

काठमाडौं, मंसिर २० । अमेरिकी दुई लडाकु विमान एक आपसमा ठोक्किदा विमानमा सवार ६ जना नौसैनिक वेपत्ता भएका छन् ।

अमेरिकी रक्षा विभागका अनुसार जापानमा तेल भर्ने क्रममा इवाकुनीस्थित मरिन कर्प्स एयर स्टेशनमा सी–१३० र एफ–१८ लडाकु विमान दुर्घटनामा परेका हुन् ।

दुर्घटनास्थल समुद्री किनारभन्दा करिब ३ सय किलोमिटर टाढा पर्दछ ।

वेपत्ता सैनिकहरुको खोजी कार्य जारी छ । यसका लागि चिकित्सकहरुको टोली पनि क्रु मेम्बरहरुसँगै परिचालित छन् ।

खोजी कार्यका लागि जापानले पनि चार वटा एयरक्राफ्ट र तीन जहाज परिचालन गरेको छ । जापानले पनि खोजी कार्यमा सहयोग गरेको भन्दै अमेरिकी अधिकारीहरुले धन्यवाद दिएका छन् ।

अमेरिकी अधिकारीहरुका अनुसार दुवै लडाकु जहाजले नियमित तालिमको क्रममा मरिन कर्प्स स्टेशनबाट उडान भरेका थिए । तर, बिहीबार दुर्घटना भयो । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी छ ।