म्यान्चेस्टरद्वारा वाट्फोर्ड पराजित, लिगमा ५ अंकको अग्रता

काठमाडौं, मंसिर १९ । म्यान्चेस्टर सिटीले पुनः अर्को जित दर्ता गरेको छ । मंगलबार राति सम्पन्न खेलमा वाट्फोर्डविरुद्ध २–१ गोलको जित निकाल्दै सिटीले अपराजित यात्रालाई कायम गरेको हो ।

वाट्फोर्डको मैदानमा सम्पन्न खेलमा घरेलु टोलीविरुद्ध सिटीले ४० औं मिनेटमा अग्रता लिएको थियो । खेलको ४० औं मिनेटमा लोरियो सानेले गोल गरेका थिए । त्यस्तै, ५१ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । उता घरेलु टिमको लागि खेलको ८५ औं मिनेटमा डाउकोरेले एक गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् ।

जितसंगै सिटीले १५ खेलबाट ४१ अंक जोडेको छ । एक खेल कम खेलेको लिभरपुलको ३६ अंक छ ।