नेकपा प्रदेश कमिटिले पूर्णता पायो

काठमाडौं, मंसिर १८ । पार्टी एकता सम्पन्न भएको ६ महिनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश एकीकरणलाई पूर्णता दिएको छ । नेकपाले सातवटै प्रदेश कमिटी सदस्यहरूको नाम सार्वजनिक गरेको छ  ।

महासचिव विष्णु पौडेलले सोमबार विज्ञप्तिमार्फत सबै प्रदेशका पदाधिकारी र सदस्यको नामावली सार्वजनिक गरेका हुन् । १२ मंसिरको केन्द्रीय सचिवालय बैठकले प्रदेश संगठन कमिटीका सदस्यको नाम टुंगो लगाएको थियो  । त्यसअघि ५ असोजको बैठकले सातवटै प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको नाम चयन गरेको थियो  ।

सार्वजनिक नामावलीअनुसार प्रदेश १, ३, गण्डकी, ५ र सुदुरपश्चिममा पूर्वएमालेले बढी हिस्सा पाएको छ  । कर्णालीमा पूर्वमाओवादीबाट बढी सदस्य छन् । प्रदेश २ मा भने दुवै समूहबाट बराबरी मनोनीत भएका छन्  ।

काठमाडौंभित्र गठन गर्ने भनिएको विशेष प्रदेश कमिटीलाई भने प्रदेश कमिटीसरहको मान्यता दिइएको छ । सो केन्द्रीय सम्पर्क समन्वय कमिटी सदस्यहरूको नामावली भने सार्वजनिक गरिएको छैन  ।