निर्मला हत्या प्रकरणः कहाँ पुग्यो छानविन ?

सुधीर नेपाल

काठमाडौं । पछिल्लो केही महिनायता सामाजिक संजालमा एउटा समाचारले निकै चर्चा पाइरहेको छ । त्यो हो करिब ४ महिना अघि कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना । निर्मला पन्त यो धर्तीमा नरहे पनि उनको हत्याराहरुको खोजी गरी कारबाहीको लागि ठूलो आवाज उठिरहेको छ । घटनाको पीडाबोध अन्य उनका परिवारलाई मार्मिक ढंगले परेको छ । तर, खोई उनको जीवन लिला खतम पार्ने यौन पिपासु ? देशको कुनै कुनामा छन् या विदेशमा छन् यसको यर्थाथ अभिलेख दिने कुनै निकाय भेटिएको छैन । विभिन्न स्तरबाट नेपाल प्रहरीले उक्त घटनाको छानविनको नाटक मञ्चन गरिरहेको छ । तर, यत्रो ठूलो सुरक्षा संगठनलाई एउटा बलात्कारको घटनाको यथार्थ चित्रण बाहिर ल्याउन पनि यति धेरै समय लाग्यो । यो खाली पानामा सीमित बनेको छ । अनुसन्धानको जिम्मा लिएकाहरु रमिते बन्न लागेका छन् ।

अपराध अनुसन्धानमा एशियामा नेपाल प्रहरीलाई राम्रो दर्जा दिइन्छ । राजधानीमा घटेका घटनाको छानविन एक घण्टामा बाहिर आउँछ । अपराधी फुत्कन पाउँदैन् । तर, राजधानी बाहिर घटेको, देशभर हल्ला भएको यो घटनाले किन नेपाल प्रहरीको शिर उचो भएको छैन ? छानविनलाई किन कागजको पोकोमा मात्र किन सीमित पारियो ? हरेक बिहान यो प्रश्नले सामाजिक संजाल तथा समाचार पोर्टलहरु रंगिएका हुन्छन् । तर, नेपाल प्रहरी भने मौन । त्यसमा नेपाल सरकारको कुरा गर्नु बेकार भइसक्यो । नेपालको गृह प्रशासन कतिसम्म निकम्मा र बेकार छ भन्ने कुरा यो घटनाले पनि प्रश्ट्याएको छ ।

लेखक सुधिर नेपाल

नेपाल सरकारका उदयमन हस्ती प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय पहिले निर्मला हत्याकाण्डको बेलिविस्तारको लागी एक वर्ष पनि लाग्न सक्ने भनेर लज्जाहिन उत्तर दिएका थिए । जसरी उनले उत्तर दिए त्यही प्रश्न उनले अफ्नो गृह प्रशासनलाई कडा भाषामा तेर्साएको भए अहिले यो काण्डले मूर्तरुप लिइसक्ने थियो । उनमा पनि यस्तो प्रश्न गर्ने आँट देखिएन । घटनालाई बुझ्दा लाग्छ अनुसन्धान गरेर सत्य तथ्य बाहिर ल्याउने भन्दा पनि कसरी आलटाल गर्ने भन्ने निहुँमा लागेको देखिन्छ सरकार । नभए यतिको चर्चा पाएको यो घटनाले किन मूर्त रुप पाउन सकेन् ? अहिले यो प्रश्न जताततै उब्जन थालेको छ ।

घटना घटेको चार महिना बितिसक्दा पनि एकाध दुई जना बाहेक कसैको नाम सुनिएको छैन् । यहि घटनाको कारण अहिले निर्मलाको परिवार विक्षिप्त स्थितिमा पुगेका छन् । परिवारको होस् हवास् एक स्थानमा छैन् । आफ्नो छोरीको हत्याराको यर्थाथ चित्रण बाहिर नआउन्जेल पन्त परिवारले दबाब दिन छोड्नेवाला छैन् । जुन कुरा नेपाल सरकारलाई राम्ररी थाहा छ । तर, छानविनमा किन तदारुकता देखिदैन् वा छानविन सकिएर पनि यर्थाथ कुरा जनता माझ ल्याउन सरकारलाई अफ्ट्यारो भएको हो ? यो सोचनिय विषय भएको छ । उता यहि घटनाक्रमले गर्दा निर्मलाका पिता जो अहिले आमरण अनसनमा छन् । उनी शारीरीक तथा मानसिक रुपले विक्षिप्त हुँदैछन् । दिन प्रति दिन उनको हालत नाजुक बन्दै गएको छ । यदि यहि अवस्थामा निर्मलाका बाबुलाई केही भयो भने त्यसको जिम्मेवारी कसले लिने ? यस्ता कुराप्रति नेपाल सरकारको ध्यान जान नसक्नु आफैमा लज्जास्पद कुरा हो । शक्तिशाली भनिएको वामपन्थी सरकारले आफ्नै हातमा डाडु पन्यु हुँदा पनि बलात्कार र हत्याजस्ता जघन्य विषयमा कानमा तेल हालेर बस्नु कति उचित होला ? यो सोचनिय विषय भएको छ । यस्ता गहन विषयमा सरकार रमिते भएर बसेको संसारको पहिलो घटना होला । कुनै बेला थियो शासन सत्ता आफ्नो हातमा नहुँदा अर्थात प्रतिपक्षी रहँदा सरकारलाई विभिन्न कोणबाट अप्ठ्यारो वातावरण सिर्जना गरेर काम गर्न नदिनेहरुको जमात नै अहिले सरकारमा छ । तै पनि किन मौन छ ? भने उता दह्रो प्रतिपक्षीको भूमीकामा देखिनुपर्ने नेपाली काँग्रेस पनि सरकारकै चालमा लहैलहै मिलाएर बसेको छ ।

अनि एकमना सरकारले आफ्नो मनोमानी नर्गला भन्न सकिदैन् । यदी साँच्चै नेपाल सरकारको गृह प्रशासनमा कुनै कमजोरी र लाल्सा छैन् भने निर्मला हत्याकाण्डको बेलीविस्तार बाहिर आउनुपर्छ र निर्मलाजस्तै निर्मलाका पितालाई लास बन्नबाट रोक्नुपर्छ । यसो भएमा वामपन्थी सरकारको शिर उचो होला । होइन भने यहि घटनाले लहरो र पहरो एकै पटक नआउला भन्न सकिदैन् । जनताको धैर्यता बाँध टुटिसकेको छ । यो कुरा पनि वामपंन्थी सरकार मनन् हास् । निर्मला हत्याकाण्डको यर्थाथता बाहिर आओस् ।