सफल होला त रारामा मदिरा निषेधित अभियान ?

नन्द ऋषी जैसी

मुगु । अशिक्षा, गरिबी, बेरोजगारी र अन्धविश्वासले जरो गाडेको हिमाली जिल्ला मुगुको रारा छायाँनाथ नगरपालिकालाई केहीहप्ता अघिमात्रै तामझामका साथ मदिरा निषेधित क्षेत्र घोषण गरियो ।

चार वटा स्थानीय तह रहेको मुगुको छायाँनाथ रारा नगरपालिकालाई मात्रै मदिरामुक्त नगरपालिकाको रुपमा घोषण गरिएको हो । घोषणासँगै सामाजिक सन्जालमा ‘नेपालको पहिलो र नमुना नगरपालिका जहाँ मदिरा सेवन गर्न पाईदैन’ भनेर सामाजिक संजालमा बहस पनि भयो । तर, उक्त अभियानलाई दीर्घकालसम्म टिकाइराख्न सकिने हो या होइन भनेर चर्चा पनि शुरु भइसकेको छ ।

नमुना नगरपालिका हुनको लागि यो अभियान सफल हुनु त्यतिकै जरुरी छ । तर, अभियान घोषणा गरिएको केही समयमा नै असफल हुने पो हो कि भन्ने आधारहरु पनि खडा रहेका छन् । रारा स्थानीय तथा बाह्य पर्यटनको गन्तब्यको रुपमा स्थापित भइसकेको छ । जिल्ला सदरमुकाम गमगढी तथा त्यस वरपर संचालित होटहरुको आय आर्जनको एक स्रोत मदिरा पनि हो । मदिरा बिक्रीमा बन्देज लगाउँदा ति व्यवसायीहरुले असहमती जनाइसकेका छन् । केही वर्ष अघि नेपालमा दुर्घटना न्यूनिकरण गर्नको लागि ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) संचालन गर्दा त नेपालभरीका रेष्टुरेन्ट तथा होटल व्यवसायीहरुले व्यापारमा गिरावट आयो भन्दै ‘अप्रत्यक्ष’ रुपमा त्यसको विरोध गरेका थिए । यस्तै कुरा रारामा पनि उठ्न थालेको छ । के स्थानीयहरु उक्त अभियानको विरुद्धमा लागेको खण्डमा प्रशासन कडा प्रतिकारमा उत्रन सक्ला ?

त्यस्तै, रारा नगरपालिकाभित्रै लामाहरुको बाहुल्यता पनि रहेको छ । उनीहरुले स्वागतको लागि स्थानीय मदिरा पाहुनालाई दिने गरेका छन् । उनीहरुले वर्षैंदेखि चलिआएको उक्त परम्परालाई त्यागेर नगरपालिकाको अभियानलाई सफल बनाउलान् त !

पछिल्लो केही हप्ताकै अवस्थालाई हेर्ने हो भने यो अभियान लामो समय टिक्ने छाँट नै छैन । रारालाई पर्यटनवर्ष घोषणा गरिरहँदा नगरपालिका घोषणा भइरहँदा नै रारा ताल वरपर संचालन भएका होटल व्यवसायीहरुले लुकाइ छिपाई मदिराको बेचबिखन भएको थियो । अहिले पनि सो कार्यले निरन्तरता पाइरहेकै छ ।

गत हप्तामात्रै अवैध रुपमा बिक्री वितरण गर्न राखिएको ठूलो परिमाणको घरेलु मदिरा स्थानीय प्रशासनले जफत गरी नष्ट गर्यो । गमगढी र आसपासका क्षेत्रबाट बिक्री वितरण गर्न लैजाँदै गर्दा ८५ लिटर तयार पारिएको र ४ सय केजी मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरिएको थियो ।

होटलवालाहरुले पनि पर्यटकको माग पूरा गर्न भन्दै लुकाएरै व्यापार गरिरहने र स्थानीय प्रशासनले मदिराहरु नष्ट गरिरहने हो भने यो श्रृङ्खलाको अन्त्य कहिले हुन्छ ?