कसको हो काँग्रेस ?

सुधीर नेपाल

काठमाडौं । समाजमा एउटा सामाजिक कार्यको जरुरी पर्यो । जसका लागि समाजका प्रबुद्ध वर्ग देखि युवाहरुसम्मको भेलाको आवश्यकता देखियो । यही आवश्यकतालाई पूरा गर्ने सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यका साथ विधि विधानको निर्माण गरि सामाजिक संस्थाको स्थापना गरिन्छ । जसले अरुको कार्य सञ्चालन सुचारु रुपले गरिरहेको हुन्छ । यो संस्थालाई कुनै रोका हुदैन । यो आफ्नो नियम अनुसार चलिरहेको हुन्छ ।

यहाँ यो भ्रमलाई औल्याउनुको कारण मात्र के हो भने अहिले सत्ताबाहिर रहेको प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसको विसंगति प्रति हो । नेपाली समाजमा मात्र नभइ नेपाललाई चिन्ने विश्व मानचित्रमा रहेका रहेका दलहरुको सामु पुरानो दल हो नेपाली काँग्रेस । यसरी राजनीतिक इतिहासमा पुरानो दलको रुपमा स्थापित भएको नेपाली काँग्रेस अहिले सामाजिक धरातलबाट बाहिर हुँदैछ । नेपालमा कम्युनिष्ट विचारधारप्रति आर्कषित हुनेहरुको संख्या बढेसँगै यसले आफ्नो गतिहीनतामा सुधारात्मक कार्यहरु गर्न सकेको छैन । पुरानो दल अनि ठूलो दलको रुपमा आफूलाई जहिले पनि जनताले पत्याउँछन् भन्ने पुरानो मान्यतालाई पालेर बस्नु र कार्यकर्ताहरुभन्दा पनि नातावाद र कृपावादलाई प्रश्रय दिनुको कारण पनि जनताले यो दललाई नपत्याएको एउटा आधार मान्न सकिन्छ ।

लेखक सुधिर नेपाल

विश्व धरातलमा आधुनिक र प्राविधिक क्षेत्रतर्फ उन्मुख भईरहेको बेला यो दलमा भने पुरानै सोच र मानसिकताको विचलन भइरह्यो । विपतको अवस्थाहरुमा गरेको क्रान्तिलाई भजाएकाहरुको समाप्ती भइ सोही क्रान्तिका अवशेषका रुपमा रहेकाहरु अहिले दोस्रो पुस्ता बनेका छन् । उसको हालत पहिलो पुस्ताभन्दा पनि तल छ । १९५० अप्रिल ५ मा स्थापना भएको यो दलले देशमा प्रजातान्त्रिक संरचनाको अभ्यास देखी गणतन्त्रात्मक शासन ल्याउने कार्यमा आफूलाई सदैव अगाडि राख्यो । देशमा भएका उथलपुथलको नेतृत्व पनि जहिल्यै काँग्रेसले गर्यो । तर, सोही दलले अहिले आफ्नो धरातल गुमाएको छ । समग्र नेतृत्वप्रति त्रासको राजनीतिक अवस्था सिर्जना हुन थालेको छ । काम गर्दा र गर्दै जाँदा आफूले काम गरेको संगठन नेतृत्वमा पुग्ने जसको पनि लालसा हुन्छ । नत्र किन गर्ने काम ? तर काँग्रेसमा यस्ता कुराहरुलाई उत्प्रेरीत गरेर कार्यकर्ता बनाउनेभन्दा आन्तरिक र पुराना नेतृत्वको संकीर्ण मानसिकताले अहिलेको अवस्था आएको हो । अहिले एउटा शुद्ध कार्यक्रर्ताले मेरो काँग्रेस भन्ने अवस्था छैन । नेतृत्वको यहि कमजोरीहरुलाइ काँग्रेसभित्रकैहरुले फाइदा लिन थाले । भाइहरुले चौका दाउमा चाखे थापेर बाजी मारे ।

काँग्रेसमा देखिएको परम्परागत रोग भनौ हुक्के बैठकेकोप्रति आर्कषण र गुप्त बैठक । यो परम्पराको थालनी स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाले गरेका थिए । जुन परम्परा अहिलेसम्म पनि कायम नै छ । जसले नेतृत्व लियो उसको मनोवल बढीहाल्ने र त्यसमा सोझा र क्रियाशिल कार्यक्रर्ताभन्दा आफ्ना नजिककाले प्रश्रय पाइहाल्ने । यहि परम्पराले गर्दा काँग्रेसको पारो तल झर्न थालेको हो । गुट–उपगुट एउटा संस्थामाचल्ने कुरा हो । चल्यो भन्दैमा यसैलाइ समातेर राजनीति गर्नु कति सम्म उपयुक्त हुन्छ ? यसरी वर्षैपिच्छे थलिँदै गएको दलको नेतृत्वको ढोका खुल्दैन । खुलेको खण्डमा पनि आधामात्रै खुल्छ । जसको कारण काँग्रेसले खुल्ला आकाशमा कहिल्यै प्रवेश पाएन । सोही कारण कार्यकर्ताहरु उकुसमुकुस हुन थाले । उनीहरु खुल्ला हातजोडेर अन्यत्र लागे । दलिय भन्दा पनि व्याक्तिगत राजनीतिले पनि काँग्रेसलाई गलाएको छ । यसको मानो खान पल्केकाहरुको कारण पनि एउटा कार्यकर्ताले यस्तो हालत भोग्नु परेको हो ।

संगठनलाई एकलौटी मनोमानी ढंगले जसले चलाउन खोज्छ त्यसको खबरदारी अवश्य हुन्छ । त्यो कालान्तरसम्म रहँदैन । यसले एकल नेतृत्वलाई फाइदा पुग्ला तर, दल बर्बाद हुन्छ । जुनकुरा काँग्रेस शिर्ष नेताहरुले नबुझेर हो या बुझेर पनि ‘भाँडमे जाओ’ भएको हो, यो नेतृत्वलाई नै थाहा होला ।

अहिले पनि देउवा काँग्रेस र कोइराला काँग्रेसबीच आरोप प्रत्यारोप चलिरहेको छ । एकताको मार्ग खुलाउनेभन्दा पनि नेतृत्वमा कसरी पुग्ने भन्ने राजनीति नै नेतृत्वको छ । हरेक उच्च नेताहरुले आफ्ना निवासहरुमा ‘ब्रेकफाष्ट’ देखि ‘डिनर मिटिङ’ चल्न चालेका छन् । यी कुराहरु बाहिर आईरहदा एउटा इमान्दार कार्यकर्ताले सोच्ने ? यस्ता मिटिङहरुको उदेश्य कसरी नेतृत्व हत्याउने भन्दा केही हुदैन । जसरी भए पनि नेतृत्व हत्याएर आफ्नो बर्चश्व देखिन पर्यो । शिर्ष नेतृत्वको यही आदरता र कायरपनले काँग्रेसमा यो अवस्था आएको हो । यर्थाथ सत्य पनि यही नै हो । अझै यही अवस्था रहिरहने हो र पार्टी नयाँ संरचनामा नजाने हो भने काँग्रेसको भविष्य रहँदैन । त्यसैले नेता हो राजनीति गर्नुपर्छ । तर, राजनीतिको नाममा एउटा गतिलो संगठनलाई आर्यघाटमा पुर्याउने कार्य कसैबाट नहोस ।